काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब भाडाको घरबाट पार्टीको केन्द्रीय कार्यालय सञ्चालन नगर्ने भएको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा केन्द्रीय कार्यालयका लागि आफ्नै भवन निर्माण वा खरिद गर्ने निर्णय गरेको हो। प्रवक्ता जगदीश खरेलले हालको कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस भएपछि यस्तो निर्णय गरिएको जानकारी दिए।
रास्वपाको केन्द्रीय कार्यालय अहिले काठमाडौंको वनस्थलीस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको छ। पार्टीले उक्त भवन घरधनी भरतमणि देवकोटासँग भाडामा लिएको हो।
तर, घरधनी देवकोटाले करिब एक वर्षअघि नै रास्वपालाई घर खाली गर्न भनेका थिए। लामो समयसम्म भाडा नपाएको र सुरक्षाको कारण देखाउँदै घर खाली गर्न जानकारी गराएको उनले बताएका थिए।
त्यसयता कार्यालयका लागि नयाँ स्थान खोज्नुपर्ने अवस्थामा रहेको रास्वपाले अब भने आफ्नै कार्यालयका लागि जग्गा वा भवन खोज्ने निर्णय गरेको हो।
पार्टीको पछिल्लो निर्णयले तत्काल अर्को भाडाको घरमा कार्यालय सार्नेभन्दा दीर्घकालीन रूपमा आफ्नै भौतिक संरचना तयार गर्ने तयारी थालेको देखिन्छ। त्यसका लागि पार्टीका सदस्य र शुभेच्छुकलाई नै उपयुक्त जग्गा वा घर हेर्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।