काठमाडौं– सर्वनाम थिएटरले आफ्नो ३६औं वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गरेको छ।
महोत्सवको पहिलो दिन सोमबार सर्वनामको प्रस्तुतिमा ‘अतिरिक्त आकाश’ को मञ्चन गरियो। थिएटरका संस्थापक अशेष मल्लको लेखन तथा निर्देशन रहेको २० मिनेट लामो उक्त नाटकमा अभिनीत मल्लले अभिनय गरेका थिए।
२२ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित बेलायत, चीन, भारत, बंगलादेश, फ्रान्स, नेदरल्यान्ड, स्कटल्यान्ड, हङकङ लगायत १३ मुलुकका नाटक देखाइनेछ। विभिन्न मुलुकका नाट्यकर्मीहरुले ‘अतिरिक्त आकाश’ कै एक वाक्यांश ‘शान्तिलाई शान्ति जस्तै नीलो रङ मन पर्छ, नीलो!’ आ–आफ्ना भाषामा वाचन गरेर महोत्सवको उद्घाटन गरिएको थियो।
महोत्सवमा ‘द कोट’ (लन्डन), ‘जम्प सांघाई’ (चीन), ‘एलाडी’ (भारत), ‘ब्लड हयान्ड्स’ (बंगलादेश), ‘द चेयर्स वेर मुभ्ड टु गिभ मी प्यासेज’ (स्कटल्यान्ड), ‘पर्फरमेन्स विथ मास्क’ (पेरिस÷नेपाल), ‘रेबोटी, इबोटी, सिबोटी’ (भारत), ‘डिजायर’ (हङकङ), ‘सेप्पेखु’, (नेदरल्यान्ड), ‘प्लेस मी सफ्ट्ली अन होराइजन’ (हङकङ), ‘कथासार’ (नेपाल), ‘सिटी फ्लेक्स’ (हङकङ), ‘फिप्टी इयर्स रिमाइनिङ अनचेञ्ज’ (हङकङ) मञ्चन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।