नयाँ दिल्ली (एजेन्सी)– २३ मार्चबाट प्रदर्शनमा आएको बलिउड अभिनेत्री रानी मुखर्जी अभिनीत फिल्म ‘हिच्की’ ले यतिबेला राम्रो व्यापार गरिरहेको छ।
चार वर्षअघि 'मर्दानी' मा अभिनय गरेपछि फिल्मबाट टाढा रहेकी उनले यो वर्ष 'हिच्की' मार्फत सशक्त उपस्थिति जनाएकी हुन्।
निर्माता तथा निर्देशक आदित्य चोपडासँग विवाह गरेसँगै रानी बलिउडबाट हराएकी थिइन्। वैवाहिक सम्बन्धबारे सार्वजनिक रुपमा यसअघि खासै नबोलेकी उनले 'हिच्की'को सफलतासँगै एक अन्तवार्तामा आदित्यसँग बिहे गर्नुको कारण खुलाएकी छन्। सो क्रममा उनले पतिको तारिफ पनि गरेकी छन्।
रानीले मनैदेखि माया र सम्मान गर्ने पति चाहेको र त्यो कुरा आदित्यमा देखेपछि आदित्यसँग विवाह गरेको बताएकी छन्।
'फिल्म उद्योगमा माया-प्रेम जोसुकैसँग हुन सक्छ, यहाँ सम्मानको भने अभाव छ। तर, आदित्यको मनमा त्यस्तो घमण्ड नभएर सधैं माया र सम्मान छ', उनले भनिन्।
परिवारका लागि माया र सम्मानसँगै आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले फिल्म निर्मातालाई रोजेको रानीको स्विकारोक्ति छ।
उनका अनुसार, आदित्य एक उत्कृष्ट लगानीकर्ता हुनुका साथै उनमा नेतृत्वको कौशल पनि छ।
'आदित्य सधैं अरुलाई प्रोत्साहन र साथ दिने मानिस हुन्। यस्तो गुण भएको व्यक्ति फिल्म उद्योगमा पाउन धेरै मुस्किल पर्छ', उनले पतिको तारिफ गर्दै भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।