बागलुङ- ढोरपाटन सिकार आरक्षमा यो वर्षको दोस्रो सिकार याम चलिरहेको छ। महँगो खर्चमा विदेशी आरक्षका विभिन्न सिकार ‘ब्लक’मा पर्यटक सिकार गरिरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल सिकारको अनुमति दिएको छ। सिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो। आउँदो बैसाख १७ गते अन्तिम टोली सिकार गर्न जाने आरक्ष कार्यालयले जनाएको छ।
विदेशी सिकारी सहितको टोलीले १५ दिन सिकारमा बिताउने गरेको छ। पहिलो टोली सिकारपछि फर्कने तयारीमा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। 'कोही सिकार गरिरहेका छन्, कोही आउने क्रममा छन्,' उनले भने। सिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड ट्रेल्स प्रालि.मार्फत सिकारी ढोरपाटन पुगेका हुन्। वाइल्ड लाइफले दुई नाउर, एक झारल, हिमालयनले दुई नाउर, ग्लोबलले तीन नाउर, एक झारल र ट्र्याक एण्ड ट्रेल्सले तीन नाउर र तीन झारलको सिकार गराउनेछ।
सिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे जस्ता देशबाट तालिमप्राप्त सिकार ढोरपाटन आउने गरेका छन्।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लक’मा सिकार खेलाउने गरिएको छ। सिकारीले रोजेको ‘ब्लक’मा लगेर कम्पनीले सिकार खेलाउने गरेका छन्। बन्दुक, गोलीगट्ठा र सहयोगीसहित सिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताए। उनका अनुसार खर्चिलो र साहसी सिकारीले टाढाका ‘ब्लक’मा सिकार खेल्न रुचाउने गरेका छन्।
नाउर शिकारको अधिकतम दर रु २ लाख २१ हजार र झारलको रु एक लाख १५ हजार तोकिएको छ। सिकार कम्पनीले केही वर्षअघि नाउर सिकारको रु १३ लाख ५ हजारसम्म बुझाएका थिए। आरक्षले सिकारबाट वार्षिक करिब रु एक करोड राजश्व उठाउने गरेको छ। बर्सेनि असोज–मंसिर र फागुन–बैसाख गरी दुई याम सिकार खुल्ला गर्ने गरिएको छ।
साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको हो। लाखौँ रुपैयाँ खर्चेर हेलिकप्टरमार्फत सिकारी ढोरपाटन पुग्ने गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।