दाङ- जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका–४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एक्स्काभेटरसहित १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ। सम्बन्धित धनीलाई कानुनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए।
सो क्षेत्रमा ठेकेदार वसन्त कुँवरले अवैध रुपमा ढुंगा निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन्। अवैध रुपमा गरेको ढुंगा उत्खननले गाउँमा जाने सडकसमेत भत्किएको छ। खोला पनि खण्डर भएको छ।
प्रजिअ तथा जिल्ला अनुगमन समतिका संयोजक प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले त्यस क्षेत्रबाट अवैध रुपमा ढुंगा उत्खनन र चोरी भएको अनुगमनका क्रममा फेला परेको बताए। 'आवश्यक कानुनी कारबाहीमा लागिसकेका छौं,' उनले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।