राजविराज– जनप्रतिनिधि र कर्मचारी मिलेर राहतमा अनियमितता गरेको भन्दै आन्दोलनरत राजविराज–५ का बाढीपीडितले आइतबार राजविराजमा प्रदर्शन गरेका छन्।
स्थानीय जनप्रतिनिधि र कर्मचारी विरुद्ध नाराजुलुससहित बाढीपीडित महिलाहरुले राजविराज नगरपालिकाको परिक्रमा गरेका छन्। उनीहरुले गत बिहीबारदेखि वडा कार्यालयमा तालाबन्दी गरी धर्ना दिइरहेका छन्।
पीडितहरुले तत्कालीन वडा सचिव दीपेन्द्र रोशन र नवनिर्वाचित वडा सदस्यहरु पार्थो सरकार तथा संगीता कर्णको बदमासीका कारण वास्तविक पीडितलाई पाखा लगाउन खोजिएको आरोप लगाएका छन्। आन्दोलनकारीका अनुसार, बाढीले क्षति नै नगरेको रोशन, सरकार र कर्णसहित उनीहरुका आफन्त सबैका घरहरु पूर्ण क्षति भएको सूचीमा पारेका छन्।
‘एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टाछुट्टै र क्षति नभएका घरहरु पनि पूर्ण क्षति भएको लिस्टमा छ’, स्थानीय दिपेश यादवले भने, ‘तर, बाढीले भत्काएका र ढलेका घरहरु पनि सामान्य क्षतिको लिस्टमा छन्।’
अनियमितताको विषयमा वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतमा पटक–पटक जानकारी गराउँदा समेत वास्ता नगरेपछि तालाबन्दी र धर्ना सुरु गरिएको उनीहरुको गुनासो छ।
वडा अध्यक्ष झाले भने स्थानीय तहको चुनाव अघि नै तत्कालीन वडा सचिवले तयार गरेको सूचीको आधारमा राहत आएको बताउँदै सिफारिस भएका नामहरु गलत भएको स्वीकार गरेका छन्। पूर्ण क्षतिमा राहत लिन खोज्ने वडा सदस्यहरुको घरमा पानी पसे पनि घरहरु क्षति नभएको भन्दै उनले बाढीपछि घरहरु हेर्नै नगएकाले वास्तविकता थाहा नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।