काठमाडौं- रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि निष्काषन गरिएको आइपिओ आइतबार बाँडफाँट भएको हो।
रसुवागढीको आइपिओमा सञ्चयकर्ताका लागि छुट्याइएको ७१ लाख १७ हजार ५ सय कित्ता सेयरमा कुल १ लाख ८५ हजार ३५ जना सञ्चयकर्ताको आवेदन परेको थियो। जसबाट आवेदक सबैलाई ३० कित्ताको दरले सेयर बाँडफाँट गरिएको हो।
३० कित्ता बाँडफाँटपछि बाँकी रहेको १५ लाख ६६ हजार कित्ता फेरि गोलाप्रथाबाट बाँडफाँट गरी १ लाख ५६ हजार ६ सय ४५ जनालाई १० कित्ता सेयर थप गरिएको छ।
त्यस्तै, सान्जेनको संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि निष्काषन गरिएको १२ लाख ७७ हजार ५ सय कित्ता आइपिओ पनि आइतबार नै बाँडफाँट भएको छ। कम्पनीको आइपिओमा ५० देखि १ सय ४० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग अनुसार नै सेयर दिइएको छ। १ सय ५० देखि ३ सय कित्तासम्म माग गर्नेलाई पनि १ सय ४० कित्ता सेयर दिइएको छ।
लगानीकर्तालाई यसरी सेयर बाँडफाँट गर्दा २७ हजार ४ सय ६० कित्ता सेयर बाँकी रहन्छ। बाँकी सेयर भने गोलाप्रथा मार्फत १ सय ५० देखि ३ सय कित्तासम्म सेयर माग गर्ने ८ हजार ८ सय ७३ जनामध्ये २ हजार ७ सय ४६ जनालाई थप १० कित्ता दिइएको छ।
सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० सम्म आवेदन दिने समय तोकिएको थियो। यस्तै, संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ सम्म आवेदन दिने समय अवधि तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।