काठमाडौं– नयाँ सरकार गठन भएसँगै निरन्तर रुपमा ओरालो लागेको सेयर बजार सरकारले देशको वर्तमान आर्थिक स्थितिलाई समेटेर श्वेतपत्र जारी गर्ने हल्लासँगै कारोबार सञ्चालन भएका पछिल्ला २ दिन बढेको थियो।
सेयर बजारलाई विशेष प्राथमिकतामा राखेर श्वेतपत्र आउने अपेक्षामा हौसिएका लगानीकर्ता पुनः निरास बनेका छन्। सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रले पुँजी बजारलाई सहि रुपमा सम्बोधन गर्न नसकेको लगानीकर्ता बताउँछन्।
अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्रबारे जानकारी दिँदै पुँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता भित्र्याउन आवश्यक रहेको बताएका थिए। उनले संस्थागत लगानीकर्ताको न्यूनता, बढ्दो ब्याजदर र वित्तीय बजारमा तरलताको अभावका कारण सेयर बजार नकारात्मक बनेको बताएका थिए।
पुँजी बजार करोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमीले साना लगानीकर्ताहरुमा सेयर लगानी सम्बन्धी ज्ञानको कमीले पनि नेप्से सूचकाङ्कमा उच्च उतारचढाव आउने गरेको उनको ठहर थियो। नेपालको पुँजी बजार सतहमा रहेको र यसको दायरा संकुचित रहेको अर्थमन्त्री डा खतिवडाले बताएका थिए।
समग्रमा आइतबारको बजार
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। यसदिन बजार २४ दशमलब शून्य ५ अंकले घटेर १ हजार १ सय ९६ दशमलब २४ को बिन्दुमा आइपुगेको छ।
आइतबार १ सय ५७ कम्पनीका ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि बिहीबारको बजारमा ३८ करोड ७१ लाख ७८ हजार ४ सय १ रुपेयाँ बराबरको सेयर किनबेच भएको थियो।
आइतबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। यसदिन बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा १ सय ४८ दशमलब ७७ अंकले घटेको छ। त्यस्तै, जलविद्युत् समूहमा ३७ दशमलब १४ अंकको गिरावट आएको छ भने विकास बैंक समूह ३६ दशमलब १ अंकले घटेको छ।
आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको १ करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नबिल बैंकको १ करोड ४४ लाख ९ सय ८४ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
आइतबारको कारोबारमा तिनाउ डेभलपमेन्ट बैंकका लागानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ अर्थात् ३ दशमलब ९१ प्रतिशतले बढेको छ।
त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँ अर्थात् ३ दशमलब ८६ अंकले बढेको छ।
यता, एनएमबी हाइब्रिट फण्ड १ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य १ रुपैयाँ अर्थात् ६ दशमलब ८४ प्रतिशतले घटेको हो। उता कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँ अर्थात् ५ दशमलब ७० अंकले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।