विराटनगर– धरान १४ स्थित विजयपुर दरबार क्षेत्रमा सुरु भएको खानेपानी ट्याङ्की निर्माणमा अवरोध आएपछि विकल्प खोज्न समिति गठन गरिएको छ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको कार्यकक्षमा भएको वार्तामा दुवै पक्षको सहमति अनुसार विवाद समाधान समिति गठन गरिएको छ। समितिमा दुवैतर्फका प्राविधिकसहित ५/५ जना सदस्य छन्।
मेयरका प्रेस संयोजक योगेशबाबु काफ्लेका अनुसार समितिले सोमबारदेखि काम सुरु गरेर चैत २७ गतेभित्र प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा उपमहानगरपालिकाले थप निर्णय लिने काफ्लेले जानकारी दिए।
समिति गठनको निर्णयसँगै पानी ट्याङ्की निर्माणको विरोध गर्दै आएको विजयपुर दरबार संरक्षण समितिले आन्दोलन स्थगित गर्ने र उपमहानगरपालिकाले निर्माण कार्य स्थगित गर्ने सहमति पनि भएको छ।
एडिबीको सहयोग तथा अनुदानमा शहरी विकास खानेपानी परियोजना अन्तर्गत उपमहानगरले ट्याङ्की निर्माण सुरु गरेको थियो। विजयपुर डाँडामा सुरु भएको ६ लाख लिटर क्षमताको ट्याङ्की निर्माणको काम सम्झौता अनुसार २०१७ जुलाईमा सक्नुपर्ने थियो।
धरान उपमहानगरपालिकाले चैत ५ गतेदेखि दरबार क्षेत्रमा टयाङ्की निर्माण कार्य सुरु गरेपछि विभिन्न ४ जातीय संघसंस्थासहित लिम्बूवान् मुक्ति मोर्चाले संयुक्त रुपमा संघर्ष समिति गठन गरी विरोध जनाएका छन्। सोही क्रममा झडप पनि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।