चितवन– नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।
२ दशक लामो पत्रकारिता जीवनको सुरुवाती क्षणमा नदी किनारमा घडियाल गोही घाम तापेको दृश्य आज पनि उनको मानसपटलमा ताजै छ। त्यसो त उनले कालीगण्डकीमा गोहीको अण्डा संकलन गरिएको आफ्नै आँखाले देखेको बताउँछन्।
दिनानुदिन मानवीय गतिविधिले नदी प्रदूषण हुँदा ती दुर्लभ जलचर हराएकामा आफू चिन्तित बनेको उनले बताए। जोशीले भने,‘नारायणीको पुलदेखि कालीगण्डकीसम्म नै नदी छेउको बगरमा घडियाल गोही देखिन्थे। निकुञ्जले अण्डा संकलन गर्थ्याे।’ आजभोलि गोही मात्रै होइन माछा पनि देखिन छाडेको उनले बताए।
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुरको ढल सोझै नारायणी नदीमा मिसाइँदै आएको छ, जुन जलचरका लागि निकै हानिकारक मानिन्छ। गत महिना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो क्षेत्रमा गोही गणना गर्दा नारायणीको पुलबाट देवघाटसम्मका क्षेत्रमा गोही देखिएनन्।
विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार मानवीय चाप बढेसँगै बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोही हराएको हो। पहिले–पहिले सो क्षेत्रसँगै कालीगण्डकी नदीमा पनि अण्डा संकलन गर्ने गरिएको भए पनि अहिले हराएर गएको उनले जानकारी दिए।
गोही सफा पानीमा बस्ने र बालुवामा गुँड बनाउने गर्दछ। पानी प्रदूषित हुनु र नदी किनारमा बालुवाको कमीका कारण गोहीका लागि आवश्यक वातावरण बन्न नसकेको पौडेल बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि घडियाल प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले २०५९ सालपछि नारायणगढको पुलबाट देवघाट हुँदै कालीगण्डकीसम्म गोहीको अण्डा भेटिन छाडेको बताए।

पानीभित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछालगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी र प्रदूषण बढ्नाले जलचरमा कमी आएको उनको भनाइ छ। खड्काले भने,‘पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ। यसको अर्थ माछाजस्ता जलचरको एउटा आहारा लेउ पनि हो।’ त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उनी तर्क गर्छन्।
देवघाट क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँलगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बढ्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा गोही जस्ता जलचरमा पर्ने गरेको खड्काले दावी गरे।
नारायणी पुलदेखि दक्षिणतर्फ वन क्षेत्र पर्ने भएकाले मानवीय गतिविधि कम हुँदा त्यस क्षेत्रमा भने गोहीको उल्लेख्य संख्या पाइन्छ। समयमै यस्ता क्षेत्रमा ध्यान पुर्याउन नसकेका दुर्लभ किसिमका जलचर हराउँदै जाने खड्काको चिन्ता छ।
निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोही हुर्काएर राप्ती र नारायणी नदीमा हरेक वर्ष छाडिँदै आएको छ। मानव अतिक्रमणका हिसाबले नारायणीभन्दा राप्ती गोहीका लागि बढी सुरक्षित क्षेत्र मानिन्छ।
(नारायण अधिकारी/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।