फलेवास– दुई जिल्ला जोड्ने काठेपुल पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन्।
फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल २ दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन। कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएको स्थानीयवासी कृष्णप्रसाद गौडेलले बताए। पटक–पटक पुल मर्मतका लागि जिल्ला समन्वय समितिलगायत विभिन्न निकायमा माग गर्दा पनि मर्मतका लागि पहल नभएको उनले गुनासो गरे।
पुल मर्मत नहुँदा बागलुङका कुश्मीशेरा, बलेवा र बिनामारे तथा पर्वतको फलेवास क्षेत्रका बासिन्दालाई नदी तर्न समस्या परेको छ। कतिपयले जोखिम मोलेरै उक्त पुलबाटै वारपार गर्ने गरेका छन् भने कतिपय त्रासका कारण २ घण्टा पैदल हिँडेर कुश्माको कैंयास्थित पुलमार्फत नदी तर्न बाध्य भएका छन्।
‘काठको पुल कुनै न कुनै बेला दुर्घटना हुने निश्चित छ’, गौडेलले भने,‘उक्त पुल जोडले हल्लिने गरेको छ भने धेरै भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ।’ २ जिल्लाका २ नगरपालिका जोड्ने उक्त पुल मर्मत तथा पुनःनिर्माणका लागि दुवै नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पुलको अध्ययन अवलोकन गरेर दुई नगरपालिकाबीचको समन्वयमा पुल मर्मत गरिने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।