काठमाडौं– भारतमा उपचारका क्रममा शुक्रबार निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीरलाई उनको निवासमा राखिएको छ।
शनिबार राति १० बजे काठमाडौं ल्याइएको उनको पार्थिव शरीर अहिले नीजि निवास सानेपामा राखिएको छ। दिल्लीमा रहेका छोरा नेपाल आउन ढिलाइ भएका कारण उनको पार्थिव शरीरलाई निवासमा राखिएको हो। नेता खड्कालाई श्रद्धाञ्जलि दिन पार्टी नेता कार्यकर्ता, आफन्त तथा शुभेच्छुकहरुको निवासमा घुइँचो लागेको छ।

छोरा आए लगत्तै पार्टी कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ। पार्टी कार्यालयपछि उनको शव पुशपति आर्यघाट लगिने छ। अस्पतालको कागजी प्रक्रिया सकेर राति उनको पार्थिव शरीर काठमाडौं ल्याइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राखिने कार्यक्रम यसअघि तय भएको थियो। नेता खड्काको अन्तिम संस्कारका लागि आइतबार अपराह्न ३ बजे पशुपति आर्यघाट लगिने कार्यक्रम छ।

खड्काको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि फागुन ४ गते थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर तर स्थिर रहेको डाक्टरले बताएपछि उनलाई फागुन ६ मा नयाँ दिल्लीको एपोलो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको अस्पतालमै निधन भएको हो।
‘माइल्ड स्ट्रोक’ बाट पीडित उनको २ वर्षअघि दुवै मिर्गौला फेल भएका थिए। त्यसबेला खड्कालाई उनकी भान्जीले मिर्गौला दान गरेकी थिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।