- शालिकराम चालिसे
नुवाकोट– भारत सरकारको नेपाल आवास पुनर्निर्माण परियोजना सुरुवातमा नै विवादमा फसेको छ। भारत सरकारले नुवाकोटमा २३ हजार घर निर्माण गर्नको लागि अघिल्लो साताबाट परियोजना सुरु गरेको थियो।
परियोजनाको लागि आवश्यक कार्यालय स्थापना गर्न सामाजिक परिचालक पदको लागि कर्मचारी छनोट गर्न शुक्रबार लिखित परिक्षा लिइयो। तर परीक्षामा अपारदर्शी शैली अनाइएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका हुन्।
आफ्ना चिनजानका र राजनीतिक दलका नेताहरुसँग कार्यकर्ता मागेर भर्ना गराइएको भन्दै नागरिक समाज, गैरसरकारी संस्था महासंघ तथा सरोकारवालहरुले विरोध गरेका छन्। गैरसरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले परियोजनाले मनोमानी रुपमा काम गर्न खोजेकोले उक्त कार्यक्रमले भुकम्प पीडितहरुलाई सहयोग नमिल्ने र भारत सरकारको कार्यशैली माथि नै प्रश्न खडा उठ्ने बताए।
गैरसरकारी महासंघ नुवाकोटले विज्ञप्ती जारी गर्दै कर्मचारी छनोट प्रक्रिया र परीक्षा प्रक्रिया अवैध भएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अघिल्लो साताबाट नुवाकोटमा कार्यान्वयनमा आएको हो। परियोजनाले २३ हजार भुकम्पपीडितलाई पुनर्निर्माणका लागि विभिन्न सहयोग गर्ने बताएको थियो।
परियोजनाले शुक्रबार कर्मचारी छनोटका लागि आफ्ना नजिकका व्यक्तिलाई मात्र बोलाएको थियो। तर परिक्षा दिन आएका परिक्षार्थीहरुनै के र कुन विषयमा परिक्षा दिन आएका हुन् भन्नेमा अनविज्ञ देखिन्थे।
कर्मचारीको परिक्षाका सम्बन्धमा बुझ्न खोज्दा नेपाल आवास पुनर्निमाण परियोजना नुवाकोटका संयोजक प्रेमकान्त झाले संस्थाको नियमअनुसार नै परिक्षा लिइएको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।