काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव'ले नेताहरुको नाममा पक्राउ पुर्जी जारी गरेकोमा त्यसलाई राजनीतिक मजाकको संज्ञा दिएका छन्।
‘राजनीतिक मजाक’ नगर्न समेत उनले विप्लवलाई चेतावनी दिएका छन्। सो पार्टीले प्रधानमन्त्री ओलीको नाममा वारेन्ट जारी गरेपछि त्यसको प्रतिक्रिया स्वरुप ओलीले आलोचनात्मक कटाक्ष गर्दै विप्लवलाई राजनीतिक मजाक बढी भएको भन्दै बन्द गर्न आग्रह गरेका हुन्।
रिपोर्टर्स क्लब नेपालको २०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै ओलीले थोत्रा किताब पढेर क्रान्तिकारी नबन्न चेतावनी दिएका छन्।
'यो विप्लव कि के समूह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने? मजाक गर्ने?’ कार्यक्रममा उनले भने, ‘मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु। प्रहसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला।’
प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअलमलिन र देश विकासको अभियानमा लाग्न विप्लवलाई आग्रह समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।