काठमाडौं– ६ वर्षअघि नमुना गुरुङसँग विवाह गरेका नुवाकोट बेलकोटगढीका प्रकाश तामाङको वैवाहिक जीवन सुखद रहेन। विवाहको ६ महिनापछि नै तिक्तता सुरु भयो।
सामान्य विषयमा पनि दुईबीच झगडा हुन्थ्यो। एक-अर्कालाई शंका गर्दै आरोप-प्रत्यारोप लगाउन थाले। विवाद चर्किंदै गएपछि पछिल्लो समय नमुना डेरा छाडेर नैकाप बस्न थालेकी थिइन्। त्यहाँको उनकी दिदी शर्मिला गुरुङको डेरा थियो।
मोबाइल फोनले कलहको बिउ रोपिँदा
नमुनाको मोबाइलमा बाक्लै रुपमा फोनहरु आइरहन्थे। शंका लागेर प्रकाशले कसले फोन गरेको भनेर सोध्थे। तर, त्यसबारे उनी केही बताउँथिनन्। त्यही विषयमा उनीहरुबीच झगडा चर्कन्थ्यो।
श्रीमतीलाई अन्य व्यक्तिसँग मोटरसाइकलमा घुम्न गएको देखेपछि प्रकाशले गत वर्ष विष सेवन गरी आत्महत्याको प्रयास समेत गरे। तर, समयमै अस्पताल पुर्याएकाले उनको जीवन जोगियो। तर, विष प्रकरणपछि पनि दम्पतीबीचको तिक्तता साम्य भएन। आफूलाई श्रीमतीले धेरै पीडा दिएको उनी बताउँथे।
पछिल्लो एक महिनायता नमुना डेराको कोठामा बस्न छाडेकी थिइन्। घरमा आउन पटक-पटक आग्रह गर्दा उनको जवाफ हुन्थ्यो- ‘तँ विदेश गएपछि मात्र आउँछु।’
श्रीमतीलाई बोलाउन उनी गत बिहीबार नैकाप पुगे। तर, दिदीको डेरामा उनी भेटिइनन्। शुक्रबार फेरि गए। नमुना लुगा धोइरहेकी थिइन्। घरमा बुबा-आमा बिरामी भएको र बच्चा हेर्ने मान्छे समेत नभएको भन्दै घर जान आग्रह गरे। तर, उनले मानिनन्। दुई जनाबीच विवाद मात्र भएन, कुटाकुट नै भयो। त्यही रिसमा कोठाबाट तरकारी काट्ने चक्कु ल्याएर उनले श्रीमतीमाथि आक्रमण गरे।
रक्ताम्य हातसहित उनी त्यहाँबाट निस्किए। कलंकीमा आएर धादिङको महादेवबेशी जाने बस चढे। महादेवबेसीमा खोलामा गएर रगत पखाली गोगनपानीस्थित ठूलीआमाको छोरा अमर तामाङको घरमा गएर बसेका थिए।
उता चक्कु आक्रमणबाट नमुना बेहोस भएकी थिइन्। अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भयो। आफन्तले प्रहरीलाई जानकारी दिएलगत्तै अनुसन्धान अघि बढायो। उनी धादिङ गएको पत्ता लगाई ठूलीआमाको छोराकै घरबाट प्रहरीले पक्राउ गर्यो।
पक्राउ परेपछि उनले आफूलाई श्रीमतीले धेरै दुःख दिएकाले आवेगमा आएर हत्या गरेको बताएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा उनीमाथि कारबाही अघि बढाएको छ। जसमा उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।