काठमाडौं- सरकारले गत चैत १ गतेदेखि काठमाडौं–बनेपा रुटमा नियमित यातायात सञ्चालन गर्न मयुर यातायात प्रालिलाई इजाजत दियो। सरकारबाट स्वीकृति पाएपछि यातायातले उक्त रुटमा २४ वटा बस सञ्चालन गर्यो।
थोत्रा बसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्रुले निःशुल्क वाइफाईसहितको नयाँ बस आएपछि यसैलाई रोजे। सिन्डिकेटको आडमा वर्षौदेखि सीमित बस चलाइरहेका पुराना यातायात व्यवसायीले नयाँ बस सेवालाई देखिसहेनन्। उक्त बसको इजाजत खारेज गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा नै गरे।
सडकमा नयाँ बस सञ्चालन गर्दा प्रहरी नै परिचालन गर्नुपरेपछि प्रधानमन्त्री केपी ओली सिन्डिकेट विरुद्ध आक्रामक भए। उनले चैत ४ गते मन्त्रीहरुलाई बोलाएर कुनै पनि सिन्डिकेट मान्य नहुने भन्दै यस विरुद्ध लाग्न निर्देशन नै दिए।
‘सडकमा होस् वा अन्यत्र कुनै पनि सिन्डिकेट मान्य हुँदैन। अरु नयाँ बस कम्पनी आउन दिइँदैन, थोत्रा बसमा कुइना ठोकेर मान्छे राख्छ। नयाँ बस आयो भने हडताल हुन्छ। हडताल भएपछि सरकार घ्वाक्राक्क घुँडा टेक्छ। यो सरकार घुँडा टेक्ने सरकार होइन। सिन्डिकेटको अन्त्य गरौं’, प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई निर्देशन दिँदै यस्तो बताएका थिए।
तर, सिन्डिकेटका बलमा सडकमा ‘राज’ गरिरहेको यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई प्रधानमन्त्रीको उक्त निर्देशन पाच्य भएन। महासंघले प्रधानमन्त्रीको उक्त निर्देशनलाई चुनौती दिँदै त्यसको भोलिपल्टै यातायात व्यवस्था कार्यालय बागमती कार्यालय एकान्तकुनामा ज्ञापनपत्र बुझायो।
ज्ञापनपत्रमा महासंघले मयुर यातायातलाई दिएको इजाजत तत्काल खारेज गर्न चेतावनी दिएको छ। सरकारले सबै कानुनी प्रक्रिया पूरा गरेर इजाजत दिए पनि महासंघले भने आफूलाई नसोधी इजाजत दिएकाले उक्त सडकमा अवरोध गराउने र त्यसको जिम्मा यातायात कार्यालय हुने चेतावनी पनि दिएको छ।
व्यवसायीको चेतावनी दिइरहँदा यातायात कार्यालयले त्यसको वास्ता नगरी मयुर यातायातलाई यात्रुमैत्री सेवा दिन सुझाव दियो।
सरकारको यो कदमपछि महासंघले आफू मातहतका कोटेश्वर पूर्व चल्ने १३ समितिलाई अघि सार्दै यातायात सेवा नै ठप्प पार्नेगरी १५ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गर्योा। काठमाडौं, भक्तपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई यातायात बन्द गर्ने चेतावनीसहितको ध्यानाकर्षणपत्र बुझाउँदै मयुरको इजाजत खारेज नभए १८ गतेदेखि काभ्रे मिनिबस, काभ्रे बस, भक्तपुर मिनिबस लगायतले ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा अनिश्चितकालीन रुपमा बन्द गर्ने घोषणा गरेका छन्।
उनीहरुले १९ गते कोटेश्वरबाट पूर्व चल्ने सवारीसाधन बिहान ९ बजेदेखि एक घन्टा नचलाउने र २१ गते कोटेश्वर पूर्वका यातायात पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन्।
यसरी चेतावनी दिनेहरुमा अरनिको यातायात सेवा समिति, काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनीबस सेवा समिति, हेलम्बु यातायात सेवा समिति, हिमाल तराई यातायात सेवा समिति, बागमती टिप्पर व्यवसायी संघ, मध्य उपत्यका बस व्यवसायी संघ, भक्तपुर मिनीबस सेवा समिति, भक्तपुर ट्रक व्यवसायी संघ, मध्य उपत्यका बस व्यवसायी संघ, मध्यपुर सद्भाव समिति, नयाँबाटो ठिमी सद्भाव समिति, उत्तर पूर्वी यातायात संघ र माथिल्लो सगरमाथा यातायात व्यवसायी संघ छन्।
मयुर यातायातलाई समन्वय नगरी इजाजत दिएर लगानीकर्ताहरुलाई निरुत्साहित गरेको र आफूहरुको लगानी जोखिममा पारेको उनीहरुको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
कारबाही हुन्छ : यातायात व्यवस्था विभाग
पुराना व्यवसायीले आन्दोलनको चेतवानी दिएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै मयुर यातायातलाई कानुन बमोजिम प्रक्रिया पूरा गरी बाटो इजाजत दिएको प्रस्ट पारेको छ।
विभागले शनिबार सूचना जारी गर्दै यातायात सञ्चालनमा अवरोध पुर्यााए वा नियमितरुपमा सवारी सञ्चालन नगरेमा कारबाही गर्ने पनि जनाएको छ।
‘कसैले सार्वजनिक सवारी सञ्चालन गर्दा अवरोध पुर्याए वा नियमित रुपमा सवारी सञ्चालन नगरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ र अत्यावश्यक सेवा ऐन बमोजिम हदैसम्मको कारबाही गरिने व्यहोरा सम्बिन्धित सबै व्यवसायीहरुलाई सूचित गरिन्छ’, विभागको सूचनामा भनिएको छ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको दबावमा इजाजत खारेज नहुने बताए।
'यातायातको सिन्डिकेट तोडेर छोड्छौं, हामी पछि हट्नेवाला छैंनौं’, उनले भने, ‘बरु आन्दोलन गर्नेहरुको रुट इजाजत खारेज गर्छौं।’
यातायात अत्यावश्यक सेवामा पर्ने भएकाले अत्यावश्यक सेवा ऐन अनुसार सेवा रोक्नेहरुको इजाजत खारेज गर्नसक्ने प्रावधान भएकाले उनीहरुमाथि नै कारबाही हुने भट्टराईले बताए।
यातायात व्यवसायीले भने सरकारी नियम विपरीत आइतबारदेखि सेवा अवरुद्ध पार्ने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।