धनगढी– खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताएकी छिन्।
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताउँदै सफा खानेपानी सबैको पहुँचमा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गरिन्।
‘स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा उल्लेख गरिएकाले यो दायित्व पुरा गर्न चुनौति पनि छ।’ उनले भनिन्, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु।’
सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले सो कर्तव्य पुरा गर्न लागि परेको मन्त्री मगरले बताइन्। उनले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाण्डौंमा छिट्टै वितरण गर्ने गरी आयोजना निर्माणको कामले तीव्रता पाएको उल्लेख गरिन्।
भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र स्तन क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिइन्।
कञ्चनपुर ‘१’ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बिना मगर मन्त्री नियुक्त भएपछि पहिलो पटक ७ नम्बर प्रदेश पुगेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।