राजविराज– माध्यामिक शिक्षा परीक्षा(एसइई)को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका २ जना निरीक्षकलाई निष्कासन गरिएको छ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट २ जना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले जानकारी दिए।
परीक्षामा मर्यादा विपरित कार्य गरी लापरबाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कुलबाट जीवन यादवलाई निष्कासन गरिएको जिशिअ पाण्डेले बताए।
यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ। यसवर्ष सप्तरीमा नियमित तर्फ ८ हजार ५ सय १४ र एक्ज्याम्टेडतर्फ १ हजार १३ गरी कूल ९ हजार ५ सय ९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन्।
७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १ सय २२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।