काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ।
भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिह्न (आइएसआई) प्रदान गरे पनि नेपालले भने यस वर्षदेखि मात्रै भारतीय उत्पादित वस्तु तथा उद्योगलाई आइएसआई चिह्न प्रदान गरेको हो।
स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्यास ड्रोइड इञ्जिनीयरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोशियट्स र दिल्ली एलपिजीलाई नेपाल गुणस्तर चिह्न प्रदान गरिएको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भारतले नेपालका ४४ उद्योगलाई आइएसआई चिह्न प्रदान गरे पनि नेपालले भारतीय १४ वस्तु तथा उद्योगलाई मात्र एनएस चिह्न प्रदान गरेको बताउँछन्। ‘प्रक्रिया पुर्याएर एनएस चिह्न लिन चाहने भारतीय कम्पनीलाई हामीले चिह्न प्रदान गर्दै आएका छौं,’ उनले भने।
भारतमा उत्पादित वस्तु तथा उद्योगलाई एनएस चिह्न प्रदान गरेपछि भारतमा उत्पादित वस्तुको गुणस्तर के–कति छ भनेर जाँच्न सजिलो हुनाका साथै अनुगमनमा सहजता हुने उनले बताए।
उद्योगमन्त्री नवीन्द्रराज जोशीका समयमा नेपालले भारतीय वस्तु तथा उद्योगलाई एनएस चिह्न प्रदान गर्नुपर्ने निर्णयानुसार विभागले भारतीय वस्तु तथा उद्योगलाई एनएस चिह्न दिन थालेको हो।
विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।