काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ।
रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिए। दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेका थिए।
सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो। यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो।
दुवै कम्पनीको साधारण शेयरमा कूल मागको तुलनामा ६ गुणा बढी आवेदन परेको छ। दुवै कम्पनीमा सञ्चयकर्ताका लागि २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय बराबरको २ करोड ४ लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्याइएको थियो। ती आवेदनबाट ११ अर्ब रुपैयाँ संकलन भएको छ।
रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए। रसुवागढी १ सय ११ मेगावाट क्षमताको आयोजना हो। सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ।
मागभन्दा झण्डै ६ गुणा बढी आवेदन परेकाले शेयर संख्या कम भएको हो। रसुवामै निर्माण भइरहेको ५७ शमलब ३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।