नेपालगञ्ज- बाँके नरैनापुर गाउँपालिकाका वडामा सार्वजनिक यातायातका साधन चल्ने सडक अझैसम्म बनेको छैन।
भएकै सडकको अवस्था पनि यति खराब छ कि, बर्खायामको त कुरा छोडौं हिउँदका दिनमा पनि सार्वजनिक सवारी साधन चल्दैनन्।
अहिले जस्तै गतिमा सडक निर्माणको काम हुने हो भने अझै कम्तिमा ३ वर्षसम्म नरैनापुरमा वर्षभरि यातायातका साधन चल्न सक्ने सडक, पुल तथा कल्भर्ट निर्माण हुने सम्भावना न्यून छ।
नेपालगन्जदेखि नरैनापुर हुलाकी सडक खन्डको राप्ति नदीको पुलदेखि नर्सरीसम्मको करिब १ किलोमिटर बगर क्षेत्रमा पुल, कल्भर्ट या सडकको कस्तो संरचना निर्माण गर्ने भन्ने अझैसम्म यकिन हुन सकेको छैन।
हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख शौरभ बज्राचार्य भन्छन् ‘राप्ति पुलदेखि नर्सरीसम्मको नदीको बगर क्षेत्रमा कस्तो संरचना बनाउने भन्ने अझै टुंगो लागेको छैन, हामी अध्ययनकै क्रममा छौं।’

हुलाकी सडक अन्तर्गत अन्य ४४ किलोमिटर क्षेत्रमा सडक तथा कल्र्भड निर्माणको काम भइरहेको छ। लक्ष्य अनुसार काम नभए पनि लक्ष्य नजिक पुग्नेगरी काम भइरहेको छ।
नेपालगन्जदेखि राप्ती सोनारीको खल्ला झगडियासम्मको करिब २२ किलोमिटर सडकको निर्माण कार्य २२ प्रतिशत र खल्ला झगडियादेखि कटकुइयासम्मको थप २२ किलोमिटर हुलाकी सडको निर्माण कार्य ३२ प्रतिशत पूरा भएको छ। २०७६ असार मसान्तसम्म सडक निर्माण पूरा गर्ने लक्ष्य छ।
हुलाकी सडकको अन्य क्षेत्रमा सडक निर्माण भए पनि गत वर्ष बाढीले भत्काएको राप्ति नदीको पुलदेखि नर्सरीसम्मको क्षेत्रमा सडक मर्मत तथा पुनःनिर्माण नहुँदा त्यस क्षेत्रका जनताले सास्ती खेप्दै आएका छन्।
गत वर्ष साउनमा बाढीले राप्ति पुल क्षेत्रको बाटो भत्काएपछि स्थानीय बासिन्दालाई सदरमुकाम नेपालगन्ज आउन–जान समस्या भएको छ।
बाढीले सडक भत्काएको लामो समय बितिसक्दा पनि सडक मर्मत नहुँदा त्यस क्षेत्रमा पर्ने फत्तेपुर, बिनौना, बैजापुर, कालाफाटा गंगापुर, मटैया, नरैनापुर क्षेत्रका १ लाखभन्दा बढी जनता सदरमुकाम नेपालगन्जसम्म पुग्न सास्ती खेप्नुपरिरहेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तिहाक अहमद साहले बताए।

सडक सामान्य मर्मतसम्म नभएकाले सार्वजनिक यातायातका साधन नचल्दा स्थानीय बासिन्दालाई नेपालगन्ज पुग्न र बिरामीलाई अस्पतालसम्म लैजान समस्या भोग्नुपरेको साहले बताए।
सडक मर्मत नहुँदा दमकल र एम्बुलेन्स सेवासमेत प्रभावित भएको छ। सडकमा अत्याधिक धुलो भएका कारण यात्रुले थप हैरानी बेहोर्दै आएका छन।
बाढीले भत्काएको सडकलाई तत्काल मर्मत गरी सहज रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्नेगरी सडक निर्माण गरेर स्थानीय बासिन्दाले सरकार समक्ष पटक–पटक आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।