काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता भित्र्याउन आवश्यक रहेको बताएका छन्। अर्थतन्त्रको दायरा बढाउन पुँजी बजार सशक्त माध्यम भए पनि धितोपत्र बजारमा मात्र सीमित भएको उनले बताए।
डा खतिवडाले संस्थागत लगानीकर्ताको न्यूनता, बढ्दो ब्याजदर र वित्तीय बजारमा तरलताको अभावका कारण सेयर बजार नकारात्मक बनेको बताए। 'पुँजी बजारमा सेयर आपूर्तिमा वृद्धि भएकाले त्यसको प्रभाव नकारात्मक बनेको हो,' अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, 'पुँजी बजार करोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमीले साना लगानीकर्ताहरुमा सेयर लगानी सम्बन्धी ज्ञानको कमी छ। यसले पनि नेप्से सूचकाङ्कमा उच्च उतारचढाव आउने गरेको हो।'
नेपाली पुँजी बजार सतही
नेपालको पुँजी बजार सतहीमा रहेको र यसको दायरा संकुचित रहेको अर्थमन्त्री डा खतिवडाले बताएका छन्। ‘पुँजी बजारमा हाल २०८ कम्पनी सूचीकृत रहे पनि ती मध्ये ७५ प्रतिशत वित्तीय क्षेत्र रहेका छन्,' उनले भने, 'पुँजी बजारको कुल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको छ।’
जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्रै भन्दै उनले पुँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीको उपस्थिति ज्यादै न्यून रहेको तथ्य श्वेतपत्रमा उजागर गरेको बताए।
पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको भन्दै डा खतिवडाले थपे, ‘साग्रमा पुँजी बजारमार्फत ठूलो परिणामको लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ।’
आजै उनले संसद्मा देशको समग्र आर्थिक अवस्था समेटिएको श्वेतपत्र प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।