काठमाडौं–६३औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट छन्।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पूर्व अध्यक्षहरुलाई सम्मानित गरे। सम्मानितहरुलाई बधाई दिँदै महराले संघीय लोकतन्त्रको रक्षा र सही प्रयोगमा पत्रकारको दायित्व हुने बताए।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षहरुको प्रशंसा गरे।
सम्मानित पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गरे। उनले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारको आचरण सुधारमा महासंघले ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।