लहान- सम्झौता गरेर पनि समयमा सडक निर्माणको काम पूरा नगर्ने विभिन्न निर्माण कम्पनीमाथि डिभिजन सडक कार्यालय लहानले कारबाही सुरु गरेको छ।
सिरहा, सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन १२ वटा सडकको निर्माणका लागि सम्झौता गरे पनि समयमा सो कार्य सम्पन्न नगर्ने ७ वटा निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेको डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देवले जानकारी दिए।
सम्झौता बमोजिम ठेक्काको काम सुरु नै नगरेको तथा कार्य सुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक, पत्र तथा सूचनामार्फत पटकपटक जानकारी गराउँदासमेत बेवास्ता गरेकाले कारबाही थालिएको प्रमुख देवको भनाइ छ।
सिरहाको बहुनाखोला कजवे प्रोटेक्सन कार्य, बलान कमला प्याच मर्मत, कोसी बलान सडकमा प्याच मर्मत र सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कल्भर्ट निर्माण गरी ४ वटा कामको ठेक्का लिएकामा पवित्रा निर्माण सेवा सिरहामाथि कारबाही सुरु गरेको सो कार्यालयले जनाएको छ।
यस्तै सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कल्भर्ट निर्माणसँगै उदयपुरको तवा खोला पुल निर्माणको ठेक्का लिएको गहिल सन्स कम्पनी प्रालि राजविराज सप्तरी र सप्तरीको मुतनीधारमा पुल निर्माण तथा सुमरी खोलामा पुल निर्माणको ठेक्का लिएको निलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडौँमाथि समेत कारबाही थालिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख देवले बताए।
त्यस्तै सप्तरीको घोडदह नदीमा पुल निर्माणको ठेक्का लिएको प्रकाश/आश्रय सेवा जेभी कुपण्डोल, सप्तरीकै महुली घाडन खोलामा पुल निर्माणको ठेक्का लिएको पप्पु मृत संजीवनी जेभी नयाँ बानेश्वर काठमाडौँ, सप्तरीकै लालापट्टिस्थित भलुवाही खोला पुल निर्माणको ठेक्का लिएको याकथुम्ह्याङ बिपी कन्स्ट्रक्सन जेभी लहान सिरहा र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरमाथि समेत कारबाही सुरु गरिएको प्रमुख देवले जानकारी दिए।
प्रमुख देवले तोकिएको समयभित्र उचित कारण पेश नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम ठेक्का तोडी अन्य कारबाही अघि बढाइने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।