ध्रुवसागर शर्मा/रासस
बेनी- म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लीलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्नुपरेको छ। रोका दम्पतीका ४ छोरा र २ छोरीमध्ये ३ छोराको वैदेशिक रोजगारीकै क्रममा विदेशमा मृत्यु भएपछि रोका दम्पती यतिबेला विक्षिप्त अवस्थामा गुज्रिरहेका छन्। बूढेसकालको सहारा छिनिएको छ। घरमा आँसुको मूल फुटेजस्तै भएको छ। रुमको बेली गाउँ रोएको छ। सम्पूर्ण बेलीवासी शोकमा छन्।
रोजगारीको सिलसिलामा मलेसियामा रहेका रोका दम्पतीका कान्छो छोरा धर्मलाल रोकाको चैत १० गते राति निधन भएको हो। साढे ४ वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलालको मृत्यु भएपछि उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार जिपको छत (हुट) मा राखेर गाउँमा ल्याई अन्त्येष्टि गरिएको छ।
१० वर्षअघि रोका परिवारका माइला छोरा भक्तबहादुरको समेत रोजगारीको सिलसिलामै कतारमा मृत्यु भएको थियो। माहिला छोराको मृत्यु भएको १८ महिनापछि फेरि जेठा छोरा तमबहादुरको मलेसियामा ज्यान गएको थियो। वैदेशिक रोजगारीकै क्रममा ३ छोरा गुमेपछि रोका दम्पती विक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ।
आफूहरुको सहारा बनेर बिरामी पर्दा उपचार र घर खर्च जुटाउँदै आएका कान्छो छोरा धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धनबहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन्। उनीहरु आफ्नो गरिबीलाई धिक्कार्दै भन्छन्, 'हे दैव! हामीले के अपराध गरेका थियौँ र यस्तो पीडा दिइस् हामीलाई?'
शव भित्रिँदा आँसुको भेल
बिहीबार बिहान उदाएको सूर्यले रुमको बेली गाउँका रोका परिवारमा उज्यालो होइन अँध्यारो ल्याइदियो। अनुहारमा खुसी होइन नयनमा आँसुको वर्षा गराइदियो।
बिहीबार बिहान १०ः४५ बजे जिप आएर घर नजिकैको सडकमा रोकियो। जिपभित्र रोकाका साइँला छोरा थमबहादुर थिए भने जिपको छतमा कान्छा छोरा धर्मलालको शव।
धर्मलालको शव भएको बाकस आँगनमा राख्न नपाउँदै बुढ्यौलीले मुजा परिसकेको धनबहादुर र लीलमतीको अनुहारमा आँसुको भेल बग्न थाल्यो। प्यारालाइसिसबाट ग्रस्त धनबहादुरले प्लाष्टिकमा बेरिएको बाकसमा मुड्की बजार्दै डाँको छोडेर रुँदै भने, 'छोरा हामीलाई छोडेर त्यो निष्ठुरी कालले तिमीलाई किन लग्यो? अब हामी कसको सहारामा बाँचौँ?'
चैत ११ गते सबैको घरमा झै रोकाको घरमा पनि चैतेदशैँको रमझम थियो। परिवारका साहिला छोरा थमबहादुर केही दिनअघि मलेसियाबाट घर फिरेका थिए। माहोल रमाइलो थियो। यतिकैमा उनको मोबाइल बज्यो। मलेसियाबाट ज्वाइँले फोन गरेका रहेछन्।
'एकदम नराम्रो खबर छ जेठान, पुष्टि भइसकेको छैन,' ज्वाइँको वाक्यले थमबहादुरको मन चसक्क भयो। त्यसपछि लगातार को मोबाइल बज्न थाल्यो।
'केहीबेरमै ज्वाइँले आत्तिएको स्वरमा भाइ धर्मलालको सुतेको अवस्थामै मृत्यु भएको खबर दिनुभयो,' थमबहादुरले आँसु पुछ्दै भने, 'शवलाई काठमाडौँ पठाउने तयारी भएको भन्ने थाहापछि म काठमाडौँ हिँडेँ। भाइको शवको बाकस बोकेर घरमा आउँदा आफूलाई साह्रै अभागी ठानेको छु।'
अविवाहित धर्मलाल वृद्ध बुबाआमासँगै बस्थे। आउने दशैँमा बिहे गर्ने उनको योजना थियो। गत शनिबार भाइसँग फोनमा दुई घण्टा कुराकानी भएको कान्छी दिदी शशिकला घर्ती मगरले बताइन्। 'पाँच दिनअघि 'दिदी म दशैँमा घर आउँछु अनि विवाह गर्ने हो' भनेको भाइको शव बाकसभित्र बन्द अवस्थामा आयो,' शशिकलाले आँसु पुछ्दै भनिन्, 'दैव पनि हाम्रो लागि कति कठोर भैदियो।'
३ छोरालाई विदेशमा गुमाएका धनबहादुर आफ्नो पीडा लुकाएर श्रीमतीलाई सम्हाल्न सक्ने अवस्थामा छैनन्। धनबहादुरलाई मासिक रु दुई हजारको औषधि खानुपर्छ भने लीलमतीलाई पनि औषधि नखाई हुँदैन।
दुई छोराको विदेशमा नै मृत्यु भएपछि धनबहादुरको परिवार कान्छा छोरा धर्मलालको कमाइले धानिएको थियो। दुई बुहारी र साहिला छोरा थमबहादुर छुट्टा भिन्न भई अलगअलग बस्दै आएका छन्। घरको अवस्था अत्यन्तै दयनीय छ।
प्यारालाइसिसको समस्याबाट पीडित घरमूली धनबहादुर नियमित औषधि खाँदै आएका छन्। ९ वर्षदेखि हातखुट्टा झम्झमाउने समस्या देखिएपछि औषधि उपचार गरी सामान्य हिँडडुल मात्रै गर्न सक्ने उनका आफन्त किस्मत रोकाले बताए।
रोका परिवारको आर्थिक सहयोगका लागि स्थानीयले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गरेका छन्। बिहीबार किरियाखर्चका लागि विभिन्न व्यक्तिले रु ३० हजार सहयोग गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।