काठमाडौं– ‘नविकरणीय ऊर्जा विकास तथा प्रविधिसम्बन्धी’ पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारबाट राजधानीमा शुरु भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै ऊर्जा तथा विद्युत उत्पादनलाई प्राथमिकतामा राख्दै २०७५ देखि २०८५ सम्मलाई ‘नविकरणीय ऊर्जा दशक’ घोषणा गर्न भरमग्दुर प्रयास गर्ने बताए।
जलविद्युत् तथा अन्य वैकल्पिक स्रोतबाट विद्युत् उत्पादन गर्दै खपत बढाउन र आर्थिक समृद्धिको आधार तयार पार्न सरकारले विशेष योजना ल्याउने बताउँदै उनले नविकरणीय ऊर्जा दशक घोषणा गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेर पारित गरिने विश्वास व्यक्त गरे।
काठमाडौं विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङले उक्त सम्मेलनको आयोजना गरेको हो। सम्मेलनमा विभिन्न २५ मुलुकका ३ सय प्राज्ञ तथा विज्ञ सहभागी छन् भने ऊर्जा क्षेत्रसँग सम्बन्धित १ सय २४ कार्यपत्रमाथि छलफल गरिने आयोजकले जानकारी दिएको छ।
नेपालको सन्दर्भमा जलविद्युत् नै प्रमुख नविकरणीय ऊर्जाको स्रोत भएको तथा सौर्य र वायु ऊर्जाका प्रविधिको उपयोग गरेर ऊर्जा सुरक्षाका लागि ऊर्जा सम्मिश्रणको अवधारणा अघि बढाउन पनि यस सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ। सम्मेलन यही चैत १७ गतेसम्म चल्नेछ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।