काएरो– इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित भएका छन्।
बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गरेका इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छ।
राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन बुधबार सम्पन्न भएको थियो।
निर्वाचनका लागि दर्ता भएका ६ करोड मतदातामध्ये २ करोड ३० लाखले मात्रै मतदानमा भाग लिएका राज्य सञ्चालित अल अहराम साथै अकहबार एल योउम पत्रिकाले उल्लेख गरेका छन्।
राष्ट्रपतिको प्रतिस्पर्धीका रूपमा माउसा मुस्तफा माउसा एकमात्र प्रतिस्पर्धी रहेका थिए। तर उनले अलसिसीको समर्थन गर्दै आएकोले निकै कम मत ल्याएको सञ्चारमाध्यमले जनाएका छन्।
निर्वाचनअघि नै सो चुनावलाई राष्ट्रपति अलसिसीको लोकप्रियता जाँचको प्रक्रियाको रुपमा मात्र हेरिएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।