काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि ज्यान मार्ने उद्देश्य राख्दै बम प्रहार गरेको मुद्दामा अदालतले नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा पक्राउ पुर्जी टाँसेको छ।
जिल्ला अदालत भोजपुरले अदालतमा उपस्थित नभएपछि उनको घरमा पुर्जी टाँसेको हो। जिल्ला अदालतले विश्वकर्माको कालिकोट नरहरिनाथ गाउँपालिका–६ माल्कोटस्थित घरमा ‘ज्यान मार्ने उद्योग र विस्फोटक प्रदार्थ’ मुद्दामा पक्राउ पुर्जी टाँस गरेको हो। विश्वकर्मालाई भोजपुर अदालतमा हाजिर हुन ७० दिनको म्याद समेत तोकिएको छ।
यसभन्दा अगाडि नै भोजपुर जिल्ला अदालतले सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि सर्कुलर जारी गरेको थियो।
प्रदेशसभा र प्रतिनिधिसभा चुनावका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले विप्लवसहितका १८ जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।
गत कात्तिक २८ गते चुनावी प्रचारका क्रममा भोजपुरमा एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। उक्त मुद्दामा सुनुवाइका लागि अदालत उपस्थित हुन पटकपटक खोजी गर्दा 'प्रकाण्ड' नभेटिएपछि म्याद तामेलीका लागि वडा कार्यालयको रोहवरमा पत्र टाँसिएको हो।
तोकेको मितिमा विप्लव र प्रकाण्ड उपस्थित नभए जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय सुनाउनेछ। अदालतले फैसला सुनाएपछि उनीहरु फरार अपराधीको सूचीमा हुनेछन्।
पार्टीका अध्यक्ष विप्लव पनि अदातलमा उपस्थित नभएकाले केही दिनमा उनको स्थायी ठेगानामा पनि म्याद तामेल गर्ने जिल्ला अदालतको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।