काठमाडौं- वाम गठबन्धनको राजनीतिक प्रतिवेदन कार्यदलले मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको छ। ललितपुरमा आज साँझ ५ बजे सुरु कार्यदल बैठकले राजनीतिक प्रतिवेदनको मस्यौदालाई अन्तिम टुङ्गो लगाउने तयारी गरेको हो।
पार्टी एकताको प्राविधिक विषय मिलाउन वाम गठबन्धनले राजनीतिक र विधान तथा संगठनात्मक गरी दुई कार्यदल गठन गरेको थियो। दुवै कार्यदलले सहमतिका विषय समावेश गर्दै प्रतिवेदन तयार गरिसकेका छन्।
असहमति रहेका विषयमा गृहकार्य गर्दै राजनीतिक कार्यदलले प्रतिवेदनलाई अन्तिम टुङ्गो लगाउने तयारी गरेको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए। आजै रातिसम्म सहमतिमा पुगेर प्रतिवेदनको अन्तिम टुङ्गो लाग्ने उनको भनाइ छ।
मस्यौदामाथिको छलफल सकेर आवश्यक परिमार्जनसहित पार्टी एकता संयोजन समितिमा राजनीतिक प्रतिवेदन बुझाउने तयारी छ।
समितिमा एमालेबाट नेपालसहित भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।