काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष ०७३/७४ को वार्षिक प्रतिवेदन बुझाएको छ।
बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रपति समक्ष बार्षिक प्रतिवेदन पेश गरेका हुन्। संवैधानिक निकायले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले आर्थिक वर्ष ७३/७४ मा सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश गरेको हो।
प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरुको संक्षिप्त विवरण राष्ट्रपति समक्ष जानकारी गराएका थिए।
उनले कार्यान्वयनमा रहेका रणनीतिक योजना तथा नीति, लक्षित समुदायमा आधारित विभिन्न तालिम, निर्वाचनमा प्रविधिको प्रयोगमार्फत निर्वाचन सञ्चालन र व्यवस्थापनलाई चुस्त छिटो छरितो बनाउन भईरहेको प्रयासबारे बताएका थिए।
प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएकी थिइन्। उनले संविधानले व्यवस्था गरे अनुसारको संरचनालाई संस्थागत गर्न छोटो अवधिमा पनि आयोगले निर्वाह गरेको भूमिकाप्रति प्रशंसा गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले निर्वाचन आयोगबाट पेश भएको प्रतिवेदन संवैधानिक प्रक्रिया बमोजिम संसदमा पेश हुने र प्रतिवेदनमा औंल्याइएका विषयहरुमा सम्बन्धित निकायले ध्यान दिने विश्वास व्यक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।