काठमाडौं– शिक्षा ऐन नवौं संशोधनको विरोधमा विद्यार्थी संघर्ष समिति नेपालले बिहीबार (भोलि) काठमाडौं उपत्यका र शुक्रबार देशभरका शिक्षण संस्था बन्द गर्ने घोषणा गरेको छ।
आज एक विज्ञप्ती जारी गर्दै समितिले शिक्षा ऐन नवौं संशोधनको विरोधमा विद्यार्थीहरुको आन्दोलन जारी रहेको तथा सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको वेवास्ता गर्दै ऐनको कार्यान्वयन गर्न खोजिएको भन्दै शिक्षण संस्था बन्दको कार्यक्रम राखिएको जनाएको हो।
२०७४ असोज ३ गते संसदबाट जारी शिक्षा ऐन (२०२८) को नवौं संशोधनले सम्पूर्ण विद्यार्थीहरु र शिक्षा प्रणालीलाई गम्भीर असर पुर्याएको समितिले ठहर गरेको छ।
उता ऐन संशोधनको विरुद्ध परेको मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा शिक्षा सेवा आयोगले भने चैत्र २३ गते अस्थायी शिक्षकहरुको परिक्षाको मिति तोकेको छ।
विद्यार्थी संघर्ष समिति, किर्तिपुरका संयोजक पुष्कर शर्माले भने,‘संशोधनको विरोधमा हामीले विभिन्न संघर्षका कार्यक्रमहरु गरिरहेका छौँ। सम्मानित सर्वाेच्च अदालतमा नवौं संशोधनको विरुद्ध परेको मुद्दा विचाराधिन अवस्थामा छ तर यस्तो अवस्थामा पनि शिक्षा सेवा आयोगले एकतर्फी रुपमा अस्थायी शिक्षकहरुको परिक्षाको मिति तोकेको प्रति हाम्रो असन्तुष्टि हो।’
उनले संशोधनको निर्णयले अध्यापन अनुमति पत्र लिएर बसेका ७ लाखभन्दा बढी विद्यार्थीहरु खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गर्ने अवसरबाट वञ्चित भएको दावी गरे। ‘६० लाखभन्दा बढी बालबालिकाको शैक्षिक भविष्य माथि कुठाराघात गरिएको छ। शिक्षा ऐन लागु भएको खण्डमा देशको समग्र शैक्षिक प्रणालीमा गम्भीर असर पर्ने स्पष्ट छ।’, उनले थपे
अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा तोकेको विरोधमा सोमबारदेखि त्रिवी शिक्षाशास्त्र संकायमा अध्ययनरत ३ जना विद्यार्थीहरु आमरण अनसनमा छन्। अनसनरत विद्यार्थीहरु राजन लम्साल, हेमराज थापा र मिलन बास्तोलाको स्वास्थ्य अवस्था शिथिल बन्दै गएपनि सम्बन्धित निकायबाट कुनै ध्यानाकर्षण नभएको संघर्ष समितिका पे्रस संयोजक दिग्गज धौरालीले जानकारी दिए।
प्रेस संयोजक धौरालीका अनुसार सरकार, शिक्षा मन्त्रालय तथा शिक्षा सेवा आयोगलगायतको ध्यानाकर्षणको लागि विद्यार्थीहरुले आज काठमाडौंको माइतीघर मन्डलामा २ घण्टा चक्काजाम समेत गरेका छन्। विद्यार्थीहरुको चक्काजाममा प्रहरीले धरपकड गरेको र केहि विद्यार्थीहरु सामान्य घाइते समेत भएको धौरालीले जानकारी दिए।
‘सरकारले शान्तिपूर्ण रुपमा विरोधमा उत्रिएका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्नुको सट्टा उल्टै प्रहरी–प्रशासन लगाएर दमन गर्ने काम भयो।,’ प्रेस संयोजक धौरालीले भने, ‘विद्यार्थीका जायज मागलाई वेवास्ता गरिएकोले विरोधस्वरुप भोलि काठमाडौं तथा पर्सी देशभरका शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका हौँ।’
समितिले आन्दोलनबाट आउनसक्ने खतराहरुमाथि राज्य स्वयं जिम्मेवार हुनुपर्ने भन्दै सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।