काठमाडौं– धेरै सार्वजनिक विदाका कारण देशको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले विदा कटौतीको निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले २२ वटा विदा कटौतीको निर्णय गरेको हो।
यो वर्ष १ सय ४ दिन सार्वजनिक विदा रहेको आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक विदा हुनेछ।
गृह मन्त्रालयको प्रस्तावअनुसार विभिन्न चाडपर्व तथा दिवसहरुको विदा कटौती गरिएको सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले बताए। केही विदाहरु सम्बन्धित धर्मावलम्बीहरुका लागि मात्र दिने निर्णय भएको र २०७४ सालमा भन्दा २०७५ मा २२ दिन धेरै सरकारी कार्यालयहरु खुल्ने राज्यमन्त्री वाँस्कोटाले जानकारी गराए। सरकारको समृद्धिको योजना अन्र्तगत विदा कटौती गरिएको उनको भनाई छ।
त्यस्तै मन्त्रीपरिषद्ले परराष्ट्रमन्त्री र उर्जामन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयका दिव्या शाह र दिलिप शाहलाई बिशिष्ट श्रेणीमा बढुवा गरेको छ भने विपद् व्यवस्थापनका लागि जापानले दिएको ४८ कोड ६० लाख रुपैयाँ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै मन्त्रीपरिषद्ले संघका मन्त्रालय र स्थानीय तहको अन्तरीम संगठन, संरचना र दरबन्दीको प्रस्ताव पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।