जितपुर(कपिलवस्तु)– प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मातृभाषाको संरक्षण र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार सदरमुकाम तौलिहवामा ‘मदरसा शिक्षा मूलप्रवाहीकरणका चुनौती र समाधानका उपायहरू’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले भाषा, संस्कृतिको संरक्षण गर्दै शिक्षाको मूलप्रवाहीकरण र आधुनिकीकरणका लागिसमेत विश्वविद्यालय अनिवार्य रहेको बताउँदै यसतर्फ सरकार अग्रसर रहेको बताए।
मन्त्री बरालले मुस्लिम बाहुल्य रहेको कपिलवस्तुमा शिक्षाको क्षेत्रमा प्रदेशस्तरीय आयोग गठन गरी अगाडि बढ्ने जानकारी दिए।
प्रदेश ५ को सरकारको मूलमन्त्र नै ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र रोजगार, जनताको पहुँचमा सरकार’ भन्ने रहेकाले प्रदेशभित्रका सबै जिल्लाका मातृभाषाको संरक्षणमा आफू लागिपरेको उनले बताए। मन्त्री बरालले भने,‘सरकारले धार्मिक विद्यालयलाई मूलप्रवाहीकरणमा ल्याउँनेछ। साधारण शिक्षाको समकक्षी शिक्षा प्रवाह गर्न सहयोग गर्नेर्छ।’
दर्ता भएका मदरसाले पाउने अनुदान रकम विभेदपूर्ण भएको भन्दै मुस्लिम जागरण मञ्च, कपिलवस्तुका अध्यक्ष मेराज खानले मदरसाको चल र अचल सम्पत्ति राज्यले संरक्षण गरी अभिलेख राख्ने गरी मदरसा मूलप्रवाहीकरण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।