अछाम– प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश ७ लाई समृद्ध बनाउन अवको बजेट केन्द्रित हुने बताएका छन्। यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अवको आवश्यकता नै आर्थिक क्रान्ति भएको उनले जिकिर गरे।
सदरमुकाम मंगलसेनमा प्रेस सेन्टर, अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै यस क्षेत्रको विकासका लागि विशेष बजेटस्वरुप १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट ल्याउने जानकारी दिए।
‘जनतालाई मेरो सरकार हो भन्ने अनुभूति दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ,’ उनले भने, ‘समावेशी र आर्थिक समानतासहितको बजेट भूगोल, जनसंख्याको आधारमा विनियोजित गरिने र बजेटमा कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी छ।’
अहिले आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसके पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी तर्जुमा भइरहेको जानकारी दिए।
बोहराले नेपालमा करमा एकद्वार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन भएको नचाहनेहरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाइरहेको आरोप लगाए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।