काठमाडौं- आन्दोलनरत उखु किसानहरुले आफ्नो खातामा पैसा हेरेरमात्रै घर फर्किने बताएका छन्।
उखु किसान र सरकारबीच उद्योग मन्त्रालयमा जारी वार्तामा किसानका तर्फबाट धारणा राखेका राकेश मिश्रले आफूहरु १५ महिनादेखि आन्दोलनमा रहेको बताए।
किसानहरुले रकम भुक्तानीका लागि फेरि समय तोक्ने विषयमा आफूहरु सहमत नभएको बताएका छन्।
'पटकपटक समय मात्रै तोक्ने?', किसानहरुको प्रश्न छ।
उनीहरुले पैसा दिलाइदिन मन्त्री लेखराज भट्टसँग आग्रह समेत गरे।
पहिले पनि अनसन बसेको र जिल्ला प्रशासन कार्यालयमा आफूहरुको पैसा पाउने वाचा गरिएपछि तोडिएको उनले स्मरण गरे।
'कार्तिक महिनाभित्र दिने भनियो। तर, दिइएन', उनले भने।
किसानहरुले अनुदान वास्तविक किसानले नपाएको बरु साहुले पाउने गरेको दुखेसो गरेका छन्।
'खेत हुने काठमाडौंमा छन्, उसका खेतमा हामी खेती गर्छौं', उनीहरुको भनाई छ, 'अनुदानको लागि लालपुर्जा मागिन्छ। हामीसँग लालपूर्जा हुँदैन।'
किसानहरुले उखुको मुल्यमा पनि समस्या रहेको बताए। ५ सय ३६ प्रति क्विन्टल भनिए पनि ५ सयको दरले दिइएको र त्यसमा पनि २० प्रतिशत ह्रासकट्टी गर्ने गरिएको बताए। 'तर, नेताहरुको काटिदैन', उनीहरुको भनाई छ, 'निमुखाको मात्रै काटिन्छ।'
उनीहरुले मिलले उखु लिने बेलामा पनि अनेक समस्या खडा गर्ने भन्दै उखुको बीमा हुनुपर्ने माग गरे।
उखुको भुक्तानी नपाउँदा किसानहरुलाई अनेक समस्या पर्ने गरेको उनीहरुको भनाइ छ।
उद्योग सचिवले चिनी उद्योगी सम्पर्कमा आएकाले समय तोकेर भुक्तानी गर्न लगाउने बताएका थिए।
किसानले मन्त्री लेखराज भट्टसँग आफ्ना कुरा राख्न खोज्दा भक्कानिएका थिए। ‘मिलले पैसा दिएन, फि तिर्न नसक्दा छाेराकाे पढाइ छुट्याे‚ घर जग्गा लिलाम हुँदैछ, ३६ प्रतिशत ब्याजमा पैसा लिएकाे छ‚’ एक किसानले स्थानीय भाषामा भक्कानिँदै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।