काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ।
वुधबार भएकाे वर्षाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो।
यो अझै घट्ने सम्भावना रहेकाे उनले बताए।
मौसम महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे र पछि अन्तिम मापन बिहान ८:४५ बजे गर्ने गर्छ।
बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो।
मौसमविद् ढकालका अनुसार काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना छैन।
आज मौसम घमाइलै हुने देखिएको , उनले बताए।
मौसमविद् ढकालका अनुसार हिजो बुधबार भने काठमाडौँ उपत्यकामा असिनासहित मध्यमसम्म वर्षा भएको थियो।
‘त्रिभुवन विमानस्थल (३३.५) मिलिमिटर र बबरमहल (११.२ मिलिमिटर) तिर मध्यमसम्म वर्षा भएको देखिन्छ’, भने, ‘उपत्यकाका अन्य स्थानमा हल्का वर्षा भएको थियो।’
१० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
हाल काठमाडौँ उपत्यकामा मात्र होइन, देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।