काठमाडौं– विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव गर्दै आएको सर्वनाम नाटकघरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्ने भएको छ।
आगामी अप्रिल २ देखि ५ तारिखसम्म चल्ने महोत्सवमा नेपालका साथै बंगलादेश, भारत, बेलायत, फ्रान्स, हङ्कङ, जर्मनी, फिलिपिन्स, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत देशका प्रस्तुति रहने आयोजकले जनाएको छ।
करिब एक दर्जन देशका तीन दर्जन रंगकर्मी सहभागी हुने महोत्सवमा रंगमञ्च सम्बन्धी अन्तरक्रिया, छलफल तथा कार्यशाला पनि गरिने भएको छ। विश्वकै प्रख्यात निर्देशकहरुबाट नेपाली रंगकर्मीहरुका साथ तालिम तथा कार्यशाला हुने जनाइएको छ।
महोत्सवको बारेमा सर्वनामका निर्देशक अशेष मल्लले महोत्सवबाट सांस्कृतिक आदानप्रदानका साथै पर्यटन प्रवद्र्धन पनि हुने विश्वास व्यक्त गरे।
‘विश्वका रंगकर्मीहरु यहाँ आएर नेपाली कला अवलोकन गर्नुका साथै उनीहरु आउँदा यहाँको पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने महसुस गरेका छौं।’
सर्वनामले कुनै प्रायोजक र बजेटबिना महोत्सव गर्न लागेको र यसलाई चुनौतीका रुपमा लिएको सर्वनामका राज शाहले बताए।
चार दिन चल्ने महोत्सवमा हरेक दिन तीनदेखि पाँच वटाका दरले जम्मा १३ वटा नाटक मञ्चन हुनेछ। नाटक सर्वनाममा हरेक दिन बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।