काठमाडौ- कैलाली क्षेत्र १ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ। बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गरेकी हुन्।
‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रमअन्तर्गतको बजेट ६ करोड रोकिएको छ, त्यसकारण जनता साह्रै दुःखी भएको अवस्था छ’ उनले भनिन् , ‘गतवर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिएँ, त्यसकारण जनताले पटक–पटक मलाई भनिरहेका छन्।’
त्यहाँका जनताका लागि पनि बजेट वक्तव्यमा रकम आएकाले तुरुन्त निकासा होस भन्दै उनले सम्बन्धित मन्त्रालय तथा सरकारलाई जानकारी गराइन्।
‘स्थानीय तहको लेखा परीक्षण सफ्टबेयर कसले गायब ग¥यो?’
स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्न निर्माण भएको सफ्टवेयर ह्याक भएर पुनः पुरानै अवस्थामा फर्केपछि राष्ट्रिय सभामा सांसदले यो विषयमा प्रश्न उठाएका छन्।
सांसद उदया शर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराइन्। उनले मंसिर १२ गतेबाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराइन् ।
‘आपराधिक ह्याकरहरुले कब्जा गरेको अवस्था छ। केही समयअघि बैंकहरुको एटिएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो,’ उनले भनिन, ‘यस्तो अवस्थामा आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारको ध्यान जाओस् ।’
सांसद कोमल वलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामनासमेत व्यक्त गरिन् । उनले नेपालीहरुको अतिथि देवो भवको संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताइन् । ‘साहसिक पर्यटन, कृषि, सांस्कृतिक पयर्टनका साथै अतिथिदेवो भव आचारसंहिता हो । संस्कारलाई अर्थतन्त्रमा जोड्न सक्नु नै पयर्टन हो । पर्यटन निकै कम लगानी गरिने व्यापार पनि हो’, उनले भनिन् ।
सांसद तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन्। उनले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने गरि ऐन ल्याएको भन्दै चिन्ता व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।