काठमाडौं– पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले नेपालमा लोक तथा दोहोरीक्षेत्रमा देखिएका विसंगति हटाउनैपर्ने बताएका छन्।
मंगलबार भृकुटीमण्डपस्थित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजित लोकदोहोरी प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले लोक तथा दोहोरी क्षेत्रमा छाडापन मौलाएको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन्।
विगतका दिनमा पनि नेपाली गीत-संगीत र कलाक्षेत्रको विकासमा आफूले योगदान गरेको र मन्त्रीको जिम्मेवारी पाएपछि यस विषयमा आफू अझ सशक्त रुपमा लाग्ने मन्त्री अधिकारीले बताए।
मन्त्री अधिकारीले आफ्नो कार्यकालमा नेपाली गीत-संगीत र कला क्षेत्र माथि उठ्नुका साथै सबै कलाकर्मीले गर्व गर्न सक्ने वातावरण बनाउने आश्वासन समेत दिए।
करिब ५ दिन चल्ने लोक दोहोरी गीत प्रतियोगिताको उद्देश्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आफ्नै भवन निर्माण गर्नु रहेको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए।
प्रतियोगितमा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुले क्रमश: १ लाख ५१ हजार १ सय, १ लाख १ हजार १ सय, ५७ हजार ७ सय ७७ र २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।