काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल खेलमा पुलिसले संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। पुलिसको जितमा सुमन लामाले एक गोल गरे। एक गोल भने उपाहार स्वरुप पाए। यता, संकटाका लागि अमित तामाङले गोल गरे।
खेलको १५औं मिनेटमा अमितले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेपछि पुलिसले १–० गोलको अग्रता बनाएको थियो। तर खेलको १८औं मिनेटमा अमितले टिमका लागि गोल गर्दै संकटा क्लबलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ३३औं मिनेटमा सुमन लामाले गोल गरेपछि पुलिस २–१ गोलले अघि रहेको थियो। पहिलो हाफमा २–१ गोलको अग्रतालाई कायमै राख्दै पुलिसले जित हात पारेको हो।
पुलिसको यो दोस्रो जित हो। यसअघि पुलिसले आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको थियो। तर आफ्नो दोस्रो खेलमा भने थ्रीस्टारसँग १–० ले पराजित भएको थियो। आफ्नो तेस्रो खेलमा भने सरस्वती क्लबलाई २–० गोलले पराजित गरेको थियो।
जितसँगै पुलिसको ४ खेलबाट ७ अंक भएको छ। पराजित संकटा क्लबको ४ खेलबाट ४ अंक छ। १० अंक बनाउँदै मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा रहँदा ९ अंकका साथ मछिन्द्र दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।