हेटौँडा- प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन्।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको आजको विशेष समयमा बोल्ने ९ जना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरेका थिए।
नेपाली कांग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गर्दै भने, 'बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ।' उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे।
राप्रपाकी सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चारमाध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गराएकी थिइन्। माझी र नेपाली कांग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।