काठमाडौं– फिल्म 'भैरै'को दोस्रो गीत मंगलबार सार्वजनिक गरिएको छ। एभरेष्ट सूर्य बोहोराको निर्देशनमा बनेको 'भैरे'को ‘सनम माया लाको’ बोलको गीत सार्वजनिक भएको हो।
गीतमा यम बरालको संगीत तथा अञ्जु पन्त र यमकै स्वर छ।
गीतको भिडियोमा दयाहाङ राई र सुरक्षा पन्तको नृत्य छ। गीत सार्वजनिकीकरण कार्यक्रममा अभिनेत्री सुरक्षाले नृत्यभन्दा फिल्मको कथा अनुसार अभिनय गरेको बताइन्।
फिल्म ‘अझै पनि’ बाट नेपाली रजतपटमा पाइला चालेकी सुरक्षा फिल्म ‘धनपति’बाट छाएकी अभिनेत्री हुन्।
कार्यक्रममा सुरक्षालाई अभिनेता दयाहाङसँग नृत्य गर्दाको अनुभव सुनाउन आग्रह गर्दा गीतको सुटिङ गर्ने तयारीमै आफू रोमाञ्चित बनेको सम्झिन्। उनले नेपाली सिनेवृत्तमा नाच्न नजान्ने हिरो भन्ने छाप पारेका दयाहाङको खुलेर तारिफ गरिन्। आफूलाई नाच्न आउँदैन भनेर स्विकार्ने दयाहाङबाट नाच्न सिकेको उनको भनाइ थियो।
'दयाहाङसँग अभिनय गर्न पाउँदै थिएँ, यसकारण साह्रै खुसी थिएँ', उनले भनिन्, 'मलाई नाच्न आए पनि फिल्ममा यस्तो नृत्य पहिलो पटक गरेकाले कोरियोग्राफरको सल्लाह अनुसार नाच्न भने दयाहाङ दाइले नै सिकाउनुभएको हो।'
त्यस्तै, दयाहाङले गीतको भिडियो छायांकनका क्रममा भोगेका अनुभव सुनाएका थिए।
अपर मुस्ताङ लगायतका स्थानमा छायांकन गरिएको गीतको सुटिङमा चिसो र लेक लागेको पल सम्झँदै उनले मिहिनेत अनुसार गीत राम्रो बनेको बताए।
'भैरे' आगामी जेठ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।