चरिकोट- दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन तथा मापदण्ड विपरीतका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्। जिल्लामा बालुवा, गिटी, रोडाढुंगा र अन्य प्राकृतिक सम्पदाको मनोमानी ढंगले उत्खनन भइरहेको विषयलाई लिएर प्रदेशको गृह मन्त्रालय समेतको जिम्मेवारीमा रहेका आन्तरिक मामिलामन्त्री जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी थापालाई आइतबार टेलिफोन गरेर निर्देशन दिएका थिए।
जिल्लामा केही व्यापारी, राजनीतिक दलका नेता, जनप्रतिनिधि र प्रहरी प्रशासन समेतको मिलेमतोमा अवैध क्रसर सञ्चालन तथा बालुवा, गिटी र रोडाढंगाको मनपरी उत्खनन् तथा मनोमानी मूल्यमा बिक्री भइरहेको गुनासो आएको भन्दै मन्त्री जमरकट्टेलले यस्तो निर्देशन दिएका हुन्।
बालुवा उत्खननको विषयलाई लिएर तामाकोशी गाउँपालिकास्थित भीरकोटको माझी बस्तीमा स्थानीय माझी समुदाय र प्रहरीबीच झडप भएको थियो।
भूकम्पपछि पुनःनिर्माणको बहानामा जिल्लामा तामाकोशीबाट जथाभावी उत्खनन गर्नुका साथै मापदण्डविपरीत क्रसर सञ्चालन गरिँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।