भैरहवा- माइती नेपालले सन् २०१९ मा नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियाबाट दुई सय ४२ जना महिला तथा बालबालिकाकाे उद्धार गरेको छ। यो नाकाबाट बेचबिखनका लागि लैजान लागिएका महिला तथा बालबालिकाकाे उद्दार गरेको हाे।
बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ। माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाले सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उद्दार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने उद्देश्यले सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको जनाएको छ।
एक वर्षमा माइती नेपालले बेचबिखनमा परेका १४ जना महिला तथा बालबालिकालाई भारतका विभिन्न ठाउँबाट उद्दार गरेको छ। यो अवधिमा सीमाक्षेत्रमा आठ हजार आठ सय २९ जनालाई परामर्श दिइएको माइती नेपालक रुपन्देहीकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन्। उनका अनुसार माइती नेपालमा सन २०१९ मा खोजतलास सम्बन्धि ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेका छन्।
'बेचबिखनको खोजीमा परेका र पर्न सक्ने सम्भावना रहेका दुई सय ४२ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी अभिभावकको जिम्मा लगाएका छौं,' माइती नेपालकी कार्यक्रम संयोजक क्षेत्रीले भनिन्, 'बेचबिखनमा संलग्न गिरोहका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएको छ। यसतर्फ सचेत हुनु जरुरी छ।'
आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुग्ने गरेको पनि उनले जानकारी दिइन्। 'खुला सीमानाका भएको कारणले रुपन्देहीको बेलहिया नाकामा बेचबेखिनको उच्च जोखिम बढेको छ', उनले भनिन्, 'विभिन्न गिरोहले आफ्नै नाता कुटुम्बको बहाना बनाएर भारतका विभिन्न स्थानमा बेचबिखनका लागि पुर्याउने गरेका छन्।'
भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको क्षेत्रीले बताइन्। घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको उनले बताइन्।
उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आयमूलक काममा लगाउन पनि माइती नेपालले सहयोग गर्दै आएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।