काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले चिनी उद्योगीको संरक्षण नगरेको स्पष्टीकरण दिएका छन्।
नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका चिनी उद्योगी वीरेन्द्र कनौडियाले उखु कृषकको ठूलो रकम भुक्तानी नगरेको समाचार बाहिरिएपछि कांग्रेसले उद्योगीको संरक्षण नगरेको स्पष्टीकरण दिएका हुन्।
उनले कृषकको समस्या तत्काल सम्बोधन गर्न पनि सरकारसँग आग्रह गरे। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले विभिन्न समयसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गरेका हुन्।
उखु किसानको समस्याका विषयमा पत्रकारहरूले कांग्रेसको धारण मागेपछि उनले भने चिनी कृषकको रकम भुक्तानी नगर्नेलाई पार्टीले संरक्षण नगर्ने उनले बताएका हुन्।
'म यो दल वा त्यो दल भनेर चिनी उद्योगीले कृषकलाई भुक्तानी नगर्न पाउँदैन। उद्योगीले यो बुझ्न जरुरी छ कि सत्ता वा प्रतिपक्षसँग नजिक छु भन्दा पनि कृषकसँग नजिक छु,' उनले भने, 'चिनी उद्योगीहरुले भुक्तानी गर्नुपर्ने रकम उपयुक्त समयमा भुक्तानी गर्नुपर्छ।'
कनौडियाको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान नगरेको विषयमा समाचार प्रकाशन भएका थिए।
आफूहरूले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौंमा आएर उखु कृषकले विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।