काठमाडौं- नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
पार्टी नेताहरुको निवासमा बसेको बैठकले राम्रो सन्देश प्रवाह नदिएको भन्दै पौडेल पक्षका नेताहरूको बैठक केन्द्रीय कार्यालयमा नै बस्न लागेको हो।
नेता पौडेलको कार्यकक्षमा बैठक जारी रहेको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी गराए। बैठकमा पौडेल निकटका अधिकांश नेता सहभागी भएको जोशीले जानकारी दिए। यसअघि उक्त समूहको अधिकांश बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी, पौडेल निवास बोहराटार र महामन्त्री डा शशांक कोइराला निवास महाराजगन्जमा हुँदै आएको थियो।
पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले बहुमतको आधारमा निर्णय गरेपछि पौडेल पक्ष संस्थापनसँग चिढिएको छ।
संस्थापन पक्षले बहुमतका आधारमा गरेका निर्णय फिर्ता नहुन्जेलसम्म देउवाले बोलाएको बैठकमा सहभागी नहुने पौडेल पक्षका नेताहरूले बताएका छन्।
जारी बैठकले आफूपक्षीय जिल्ला सभापतिहरूको भेला बोलाउने निर्णय गर्ने बताइएको छ।
बहुमतको आधारमा गरिएका निर्णय मान्य नहुने बताउँदै नेता प्रकाशमान सिंहले भने, ‘पुस ११ मा भएका निर्णय फिर्ता भएपछि मात्रै बैठकमा उपस्थित हुनेछौं।’ पार्टी सभापति देउवाले खटाएका उपसभापति विमलेन्द्र निधिसँग वार्ता नगर्ने उक्त समूहले स्पष्ट पारेको छ।
राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बिहीबार बोलाएको बैठक समेत बहिष्कार गर्ने पौडेल समूहले प्रष्ट पारेको छ।
मंसिर २६ देखि बोलाएको बैठकमा पौडेल पक्ष उपस्थित नभएपछि संस्थापनले पुस ११ मा बहुमतका आधारमा १४औं महाधिवेशनको मिति सहित अन्य निर्णय गरेको थियो। उक्त बैठकले महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको थियो।
विभागहरु २८ बाट बढाएर ४७ पुर्याइएको थियो। तरुण दलको म्याद ६ महिना थपिएको थियो। १४औं महाधिवेशन गर्ने प्रयोजनका लागि भन्दै विधानका केही धारासमेत बहुमतका आधारमा निलम्बन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।