काठमाडौं– सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसकेपछि प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुनः स्थगित भएको छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार सूचना प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित गरिएको हो। विशेष कारणवश बैठक बस्न नसक्ने सूचनामा उल्लेख छ। सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो। ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडि बढाउने कार्यसूची तय गरे पनि बैठक स्थगित गरिएको थियो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठकमा समेत असर पर्दै आएको छ।
नेकपामा सभामुखका आकांक्षीहरु धेरै हुँदा उम्मेदवारको टुंगो लगाउन सकस परेको हो। आकांक्षीमध्ये पनि ३ जना पार्टी शीर्ष नेतृत्व निकट भएका कारण टुंगो लगाउन समस्या परेको हो । सभामुखका प्रमुख दावेदारका रुपमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीनिकट सुवास नेम्वाङ, अर्का अध्यक्ष पुष्पकमल दाहालनिकट अग्नी सापकोटा र राष्ट्रपति विद्यादेवी भण्डारीनिकट डा शिवमाया तुम्बाहाम्फे देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।