काठमाडौं– जनरल मनोज मुकुंद नरवानाले २८औं भारतीय सेना प्रमुखको जिम्मेवारी लिएका छन्। जनरल बिपिन रावतको उत्तराधिकारी बन्दै नरवानाले करिब १३ लाख भारतीय सेनाको नेतृत्व लिएका हुन्।
३७ वर्षको सेवा अवधिमा उनले थुप्रै जिम्मेवारी सम्हालेका छन्, जसमा जम्मू-काश्मीर क्षेत्रको कारबाही पनि पर्छ। राष्ट्रिय राइफलको जिम्मेवारीसमेत सम्हालेका उनले भारतीय सेनाको पूर्वीकमाण्डको समेत नेतृत्व सम्हालेका थिए।
भारीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी रहन्छन्।
पूर्व प्रमुख राउतलाई रक्षा प्रमुखको जिम्मेवारी
त्यस्तै पूर्व सेना प्रमुख जनरल बिपिन रावत भारतको पहिलो चीफ अफ डिफेन्स स्टाफ (सिडिएस)का रूपमा नियुक्त भएका छन्। उनलाई सोमबार उक्त पदमा नियुक्त गरिएको थियो। आजबाट सुरु भएको उनको कार्यकाल अर्को आदेश नआएसम्म कायम रहनेछ। सेना प्रमुखको रुपमा रावतको तीन बर्षे अवधि मंगलबार समाप्त हुँदैछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष सिडिएस पदको घोषणा गरेका थिए। जनरल रावतले रक्षा मन्त्रालय र तीन सेनाको बीचमा संयोजकको रूपमा भूमिका खेल्ने छन्। रावतलाई पहिलो रक्षा प्रमुख (सिडिएस)को रूपमा आधिकारिक घोषणा गरिएको हो।
उनको नामलाई देशको पहिलो सिडिएसको रूपमा छाप लगाइएको छ। सरकारले सोमबार यसको बारेमा जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।