काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ।
भेटवार्ता १० बजेदेखि सुरु भएको हो।
रिक्त रहेको सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने नेकपाले निर्क्यौल गर्न सकेको छैन। अध्यक्षद्वयको भेटवार्ता सोही विषयमा केन्द्रित रहेको हुनसक्ने बताइएको छ।
नेकपामा पूर्व एमाले र पूर्व माओवादी केन्द्रले आफ्नो तर्फबाट सभामुख बनाउन प्रयत्न गरिरहेका छन्।
नेकपा गठन हुनुअघि सभामुख आफ्नो भागमा परेकाले पूर्व माओवादी केन्द्रले अहिले पनि आफ्नो समूहका तर्फबाट सो पद पाउनुपर्ने दाबी गरिरहेको छ। उनीहरुले साझा उम्मेदवारको रुपमा अग्नि सापकोटालाई अघि सारेका छन्।
त्यस्तै, पूर्व एमालेका तर्फबाट भने अध्यक्ष ओलीले आफू निकटका नेतालाई सभामुखमा ल्याउन प्रयत्न गरिरहेका छन्। उनको जोड सुवास नेम्वाङमा रहेको निकटस्थ नेताहरुले बताउने गरेका छन्।
यसअघि पुस ११ मा बस्ने प्रतिनिधिसभाको बैठकपछि सभामुख निर्वाचन प्रक्रिया सुरु बताइएको थियो। तर अन्तिम समयमा सूचना टाँसेर बैठक १६ गतेका लागि स्थगित गरिएको छ।
त्यसअघि नै सभामुखको उम्मेदवार चयन गर्न नेकपाभित्र प्रयास हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।