काठमाडौं- नेपालको संविधानमा युरोपेली युनियन (इयू)ले दिएको सुझावप्रति नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्को विरोध भएको छ।
प्रदेशसभा र संघीय संसदमा समानुपातिकतर्फ जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गरिए अनुसार खस आर्य समूहको प्रतिनिधित्व गराउने प्रावधान संविधानबाट हटाउन इयूले दिएको सुझावप्रति आपत्ति प्रकट गरिएको हो।
सोमबार बिहान बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले बोल्दै इयूले सार्वजनिक गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको विरोध गरे।
बैठकमा केन्द्रीय सदस्यहरु रमेश लेखकका साथै गोविन्द भट्टराई, डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका थिए।
इयूको प्रतिवेदनमा उल्लिखित केही अंशप्रति बैठकमा छलफल र बहस सुरु भएको र यसबारे चाँडै औपचारिक धारणा सार्वजनिक गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
प्रवक्ता शर्माले इयूका कुनै पनि देशको संविधानभन्दा नेपालको संविधान र यसमा उल्लिखित प्रावधान उत्कृष्ट रहेको बताए।
तेस्रो दिन सोमबार बिहान साढे १० बजेतिर सुरु भएको बैठक डेढ घन्टा चलेर पुन: बस्नेगरी स्थगित भएको थियो। बैठक अपराह्न ३ बजेदेखि पुन: चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।